तपाईँ सुन्दै हुनुहुन्छः

पी एम कप क्रिकेट : बागमती प्रदेशद्वारा मधेश प्रदेश ३५ रनले पराजित

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप (पिएम कप) मा मधेश प्रदेशलाई ३५ रनले हराएको छ ।

यो हारमा फाइनलमा पुग्ने दाउमा रहेको मधेशलाई धक्का लागेको छ । जितका बाबजुद बागमतीको भने झिनो गणितीय आधार मात्र बाँकी छ ।

जितको लागि २ सय ९ रनको लक्ष्य पछाएको मधेश प्रदेश ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७३ रनमा समेटियो । प्रतिश जिसीले ५ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । मधेशका खेलाडी ब्याटिङमा चुके । 

७ खेल खेलेको मधेश ९ अंक सहित अंक तालिकाको चौथो स्थानमा छ । यो जितले फाइनल यात्रा केही सहज बन्ने थियो । विजयी बागमतीले भने ८ खेलबाट ८ अंक नै बनाएको छ ।

बागमती पाँचौँ स्थानमा छ । अब उसले एक खेल खेल्न बाँकी छ । जितमा पनि बागमतीलाई फाइनलमा पुग्न निकै कठिन छ । गणितीय झिनो सम्भावना मात्र बाँकी छ ।

यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ८ रन बनायो । 

अर्को खेलमा पुछारमा रहेको कोशी प्रदेशविरुद्ध ५ रनले सङ्घर्षपूर्ण जित निकाल्दै एपिएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । कोशीको यो लगातार सातौं हार हो ।

जितको लागि २ सय २६ रनको लक्ष्य पछाएको कोशी ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय २० रनमा समेटियो । त्यसअघि जनकपुरस्थित रामजानकी मल्टीपर्पोज स्टेडियममा पहिले ब्याटिङ गरेको एपिएफल ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय २५ रन बनायो । 

एपिएफले ८ खेलबाट ९ अंक जोड्दै पाँचौँ स्थानमा छ । १ अंक सहित कोशी लिगको पुछारमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button