तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाबाट अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

दाङ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’पारित गरेको छ । 

सातौं अधिवेशनको दशौं बैठकले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको हो । 

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयक छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयकको उद्देश्यबारे जानकारी दिँदै सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभयो । 

प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनीत पदाधिकारी, सरकारी निकाय तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने तथा सङ्घीयता, सुशासन र विकास व्यवस्थापनसँग सम्बन्धित अनुसन्धानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी, मन्त्री ढकालले नै प्रस्तुत गर्नुभएको  ‘जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पुनः छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने निर्णय गरेको छ । 

दशौं बैठकमा प्रदेशसभा सदस्यहरू तुलसीप्रसाद चौधरी, खड्ग बस्नेत, इन्द्रजीत थारु, रामजी घिमिरे, माया पुन, जानकी न्यौपाने, चन्द्रकेश गुप्ता, मिना बुढा, सुधाकर पाण्डे, अम्बिका काफ्ले र वसिउद्दिन खाँले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरी र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

त्यस्तै, ११ औँ बैठकमा प्रदेशसभा सदस्य निमा गिरी र निलम पास्वानले सम्बोधन गर्नुभएको थियो । बैठकले ‘वन ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाउने निर्णय गरेको छ । उक्त प्रस्ताव वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रस्तुत गर्नुभएको थियो । 

प्रदेश सभाको सातौं अधिवेशनको १२औँ बैठक वैशाख ६ गते आइतबार दिउँसो १ः०० बजे बस्ने छ ।

 ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button