तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी (रुकुम पश्चिम)।रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । पालिकाभर पाँच हजार ३०० रोपनीमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल रु तीन हजार ५०० मा अदुवा बिक्री गरेका शाखा प्रमुख कार्कीले बताउनुभयो । व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन् । व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख आम्दानी गरेको बताउनुभयो । विगत २२ वर्षदेखि उहाँ निरन्तर अदुवा खेतीमा संलग्न हुनुहुन्छ । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button