सभामुखद्वारा बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आज आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सभामुख अर्यालले भन्नुभयो, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”
सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराउनुभयो । “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उहाँले भन्नुभयो ।
छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उहाँले भन्नुभयो ।
त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तामाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राख्नुभयो ।
बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ ।








प्रतिक्रिया राख्नुहोस्