पोखरामा राष्ट्रियस्तरको एथलेटिक्स उत्सव हुने, ४६६ खेलाडी प्रतिस्पर्धामा उत्रिने

पोखरा । कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा यही चैत २८ गतेदेखि पोखरामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुने भएको छ । सङ्घले प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि आवश्यक सबै व्यवस्थापन सम्पन्न गरेको आज( बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
नेपाल एथलेटिक्स सङ्घको समन्वयमा चैत्र ३० गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगितामा कुल ४६६ खेलाडी सहभागी हुने भएको प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीले बताउनु भयो । पोखरा ओपनतर्फ महिला र पुरुष गरी ३१२ खेलाडी प्रतिस्पर्धामा उत्रने भएका छन् भने यू–२० राष्ट्रिय च्याम्पियनसिपतर्फ १५४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएको उहाँले जनाउनु भयो ।
पोखरा ओपन एथलेटिक्स मिटमा सातै प्रदेशका साथै विभागीय क्लबहरूको उल्लेखनीय सहभागिता रहने संयोजक अधिकारीले बताउनु भयो । यस्तै, यू–२० च्याम्पियनसिपमा प्रदेश स्तरबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने भएका हुन् । यो प्रतियोगिता एसियन च्याम्पियनसिप र हङकङमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोटको आधार समेत बन्ने आयोजकले उल्लेख गरेको छ ।
प्रतियोगितामा पोखरा ओपनतर्फ ३० र यू–२० च्याम्पियनसिपतर्फ २४ गरी कुल ५४ इभेन्ट समावेश गरिएका छन्। पोखरा ओपनका विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ भने यू–२० तर्फका विजेताहरूले ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
करिब ४० लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगितामा विभिन्न संघ–संस्था तथा निजी क्षेत्रको समेत सहकार्य रहेको छ । नेपाल एथलेटिक्स सङ्घको मुख्य समन्वयमा रेडबुल, योर्स ट्रेनिङ, ग्याट्स ट्रेनिङ सेन्टर र कफी डे हिमालयले सह–प्रायोजन गरेका छन्। साथै, सफल दूध न्यूट्रिसियन पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स इन्सुरेन्स पार्टनर, ग्रिन डेभलपमेन्ट बैङ्क बैङ्किङ पार्टनर तथा सोल्टी पिउने पानी हाइड्रेशन पार्टनरका रूपमा आबद्ध छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगितालाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गर्दै सहयोग गर्ने जनाउनु भयो । यस प्रतियोगिताले पोखरालाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्