तपाईँ सुन्दै हुनुहुन्छः

तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको काम सुरु

दोलखा । राष्ट्रिय बन क्षेत्रको जग्गा भोगाधिकारको विषयमा विवाद हुँदा विगत १० महिनादेखि रोकिएको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको काम सुरु भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन यो आयोजनाले बन क्षेत्रको भोगाधिकार नपाउँदा काममा अवरोध भएको थियो । 

जग्गाको भोगाधिकार पाएपछि बन क्षेत्र उपयोग बापतको सात करोड दाखिला गरेर काम अघि बढाइएको आयोजनाका प्रबन्ध निर्देशक रामप्रसाद यादवले बताए । त्यसैगरी स्थानीय स्रोत प्रयोग गरेबापत सरकारलाई थप चार करोड राजश्व बुझाइएको प्रबन्ध निर्देशक यादवले बताए । स्थानीय स्रोत ढुङ्गा, बालुवा र गिटी उपयोगका लागि गौरीशंकर संरक्षण क्षेत्र र जिल्ला समन्वय समितिसँग सहमति लिने आयोजनाले जनाएको छ ।

जग्गा भोगाधिकार नपाउँदा ९९ दशमलब ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ आयोजनाको मुख्य सुरुङको निमार्णको काम भएपनि २, ३ र ४ नम्बर अडिट टनेल सहितका काम पूर्ण रुपमा बन्द भएको थियो । 

इपिसि मोडलमा बनिरहेको तामाकोशी पाँचौँ आयोजना २०८५ असार मसान्तमा सक्ने लक्ष्यसहित अब काम अघि बढाइएको प्रबन्ध निर्देशक यादवले बताए । 

सिभिल तर्फको कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले बन क्षेत्रको भोगाधिकारका कारण काम अगाडि बढाउन नसकेकोमा त्यो पनि अब तीव्र गतिमा अघि बढेको यादवको भनाई छ ।

निकुञ्ज– संरक्षण क्षेत्रमा पूर्वाधार तथा विकासका संरचना बनाउन भएको कानुन संशोधनलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निकुञ्ज र संरक्षण क्षेत्रमा निर्माणाधीन आयोजनाको काम रोकिएका थियो । उक्त फैसला विरुद्धको रिटमा बन मन्त्रालयलाई कानुन बनाएर आयोजनाको कामअघि बढाउन भने पनि पूर्ण पाठ नआएको भन्दै गत असार २० गतेबाट तामाकोशी पाँचौँ र माथिल्लो तामाकोसी आयोजनाको २० मेगावाटको रोल्वालिङ आयोजनाको काम बन्द भएको हो ।

काम सुरु गर्न गौरीशङ्कर संरक्षण क्षेत्र, बन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरू सबैबाट राम्रो सहयोग प्राप्त भएको प्रबन्ध निर्देशक यादवले बताए । जनताको पानी जनताकै लगानी कार्यक्रम अन्तर्गतको तामाकोसी पाँचौँ आयोजना निमार्णमा २१ अरब लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button