बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु
मकवानपुर । बागमती प्रदेशसभाको सत्रौं (बजेट) अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजे बस्ने तय भएको छ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेश प्रमुखले आजका लागि अधिवेशन आह्वान गर्नुभएको हो। प्रदेशसभा बैठक हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको अस्थायी सभाहलमा बस्नेछ।
यसअघि ‘जेन (जी) आन्दोलन’ का क्रममा हेटौंडा–१० मा रहेको प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक वैकल्पिक स्थलबाट सञ्चालन गर्न लागिएको हो।
आजको बैठकमा सभामुखको राजीनामा सम्बन्धी पत्र वाचन, सभामुखको अनुपस्थितिमा बैठक अध्यक्षता गर्ने गरी दलगत रूपमा ५ जना सदस्य मनोनयन तथा दलका नेताहरूबाट शुभकामना मन्तव्य प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
राप्रपाबाट सभामुख बनेका भुवन पाठकले ‘जेन (जी) आन्दोलन’पछि पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ। संविधानअनुसार प्रदेशसभा बैठक बसेको मितिले १५ दिनभित्र नयाँ सभामुख चयन गर्नुपर्ने व्यवस्था रहेकाले यसै अधिवेशनबाट नयाँ सभामुख चयन गरिनेछ।
प्रदेशसभामा हाल चारवटा विधेयक प्रक्रियामा रहेका छन्। तीमध्ये आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक र खानेपानी तथा सरसफाइ विधेयक नयाँ दर्ता भएका छन्। चलचित्र विधेयक समितिमा छलफलमा रहेको छ भने चिट्टा विधेयक छलफलका क्रममा रोकिएको अवस्थामा रहेको सचिव पौडेलले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्