स्याङ्जामा जिप दुर्घटना : ११ जना घाइते
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्तीमा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
विरुवा भित्री सडक खण्डमा घुम्तिबाट विरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अचानक अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको हो ।
दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रसन्नराज चौधरीले जिपमा चालकसहित १५ जना सवार रहेको र तीमध्ये ११ जना घाइते भएको बताउनुभयो ।
घाइते हुनेहरूमा विरुवा ४ घोप्टेका ८ वर्षीय एन्जल नेपाली, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीय दालमायाँ गुरुङ, ६५ वर्षीय रेमकुमारी बस्याल, १३ वर्षीय कृष्चल दर्जी रहेका छन् । त्यसैगरी पुतलीबजार ७ ठुलाडीका ५७ वर्षीय चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीय शर्मीला नेपाली र उनका करिब साढे २ वर्षका छोरा कृष्ण नेपाली पनि घाइते भएका छन् ।
यसैबीच कास्की जिल्लाको पोखरा महानगरपालिकाबाट यात्रा गरिरहेका ६० वर्षीय विष्णुमाया गुरुङ, ५६ वर्षीय सिता वाग्ले र ६० वर्षीय बिमला गुरुङ समेत दुर्घटनामा परेका छन् ।
घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्