सार्वजनिक जग्गा अतिक्रमण नगर्न मकवानपुर प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न/नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न, कसैले अतिक्रमण गरेको भए तत्काल खाली गर्न र संरक्षणमा सहयोग गर्न आग्रह गरेको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउने बारे सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनामा उल्लेख भएको र सो विषय तत्काल कार्यान्वयन गर्ने सम्बन्धमा सार्वजनिक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।
अतिक्रमण गरेको पाइएमा वा अतिक्रमित जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ । त्यसैगरी, जिल्लाभित्र सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी भए जिल्ला प्रशासन कार्यालयमा सूचना उपलब्ध गराई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रदेशको राजमार्ग हेटौँडा क्षेत्रका राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधन हटाएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–१, २, ४, १० र ११ नम्बर वडाभित्र पर्ने राजमार्ग क्षेत्रमा अनावश्यक रूपमा पार्किङ गरिएका सवारी साधन हटाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले प्रदेशको राजधानी समेत रहेको हेटौँडामा राजमार्गदेखि भित्री सडकसम्म जथाभाबी पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएकोले यातायात व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको हुँदा त्यसलाई व्यवस्थित गर्न यस्तो गरिएको बताउनुभयो ।
प्रहरीले भोली चैत २४ गतेदेखि राजमार्गको दायाँ–बायाँ सवारी साधन पार्किङ नगर्न सर्वसाधारणलाई आग्रह गर्दै त्यस्तो भएको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्