हेमन्त धामीको उत्कृष्ट बलिङ्गमा सुदूरपश्चिम प्रदेश पीएम कपको शीर्ष स्थानमा

जनकपुरधाम । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशको बलर हेमन्त धामीको उत्कृष्ट बलिङका कयरणले विजयी भएको हो ।
आजको जीतसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । २ सय ९ रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमै अल आउट भएका थिए । बागमतीको हारको मुख्य कारण कमजोर ब्याटिङ रहेको थियो ।
ओपनर शुभ कंसाकारले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए पनि अन्य कुनै पनि व्याट्स म्यानले दोहोरो अंक छुन नसकेपछि बागमती नराम्रोसँग पराजित भएको छ । टोलीले ५ रन अतिरिक्त पाउँदा बाँकी १० खेलाडीले जम्मा ९ रन मात्र बनाउन सको थियो । बागमती प्रदेशका ५ खेलाडी रनको खाता नै नखोली आउट भएका थिए ।
बागमतीलाई ४६ रनमै रोक्न हेमन्त धामी आजको खेलमा उत्कृष्ट वलिङ्ग गरेका थिए । उनले ६ ओभरमा २ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिएका थिए । प्रतियोगितामा उनी २१ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्षस्थानमा पुगेका छन् । शेर मल्लले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएका थिए । जनकपुरधाममा भएका सबै खेलमा आजको स्कोर नै बढिरहेको छ । ओपनर अभिषेक पाल र राजु रिजालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।
राजु २८ बलमा ४ रन बनाएर आउट भए भने अभिषेक पालले ३५ बलमा ८ चौका प्रहार गर्दै ३९ रन जोडेका थिए । त्यसपछि खडक बोहरा शून्य, किरण ठगुन्ना ५, नरेन भट्ट ६ र मुलन बोहरा खाता नखोली आउट हुँदा सुदूरपश्चिम ६८ रनमै ६ विकेट गुमाएर दबाबमा परेको थिए ।
त्यसपछि दीपक बोहरा र नारायण जोशीले सातौँ विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपक ४० रनमा आउट भए भने आठौँ नम्बरमा आएका नारायण जोशीले उत्कृष्ट अर्ध शतक बनाएका थिए । उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै टोलीका लागि सर्वाधिक ७५ रन बनाएका थिए । अशोक धामी १७ रनमा अविजित रहेका थिए ।
बागमतीका लागि प्रतिश जिसीले ९ ओभर १ बलमा २६ रन खर्चेर ४ विकेट लिएका थिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ४ विकेट लिएका थिए ।
सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेका छन् भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ५ खेलबाट ९ अङ्कसहित दोस्रो स्थानमा छ । बागमतीको भने यो प्रतियोगितामा चौथो हार भएको हो । ६ खेलबाट ४ अंक जोडेको बागमती आठौँ स्थानमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्