तपाईँ सुन्दै हुनुहुन्छः

‘सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका निर्वाह हुनेमा विश्वस्त छु’

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको छ । 

सभामुख अर्याललाई आज बधाई दिँदै उहाँले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

सभापति लामिछानेले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने सभामुख अर्यालको दृष्टिकोण सराहनीय भएको बताउनुभयो । “सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्पराअनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो । यस ऐतिहासिक अवसरमा सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । 

सभापति लामिछानेले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएकामा अर्जुननरसिंह केसीलाई धन्यवाद दिनुभयो । 

सभामुख अर्यालले आजै पदभार ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button