तपाईँ सुन्दै हुनुहुन्छः

आईसिपी भन्सारलाई यात्रु टर्मिनलसहित पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी 

वीरगञ्ज  । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वीरगञ्ज–रक्सौल एकीकृत सुरक्षा जाँच चौकी आईसिपीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै अहिले आवश्यक तयारी सुरु भएको छ । 

अर्थमन्त्री डा.वाग्लेले नेपालकै महत्त्वपूर्ण भन्सार नाकाको रुपमा रहेको वीरगंज भन्सार आईसिपीको गत शुक्रबार स्थलगत निरीक्षणपछि भन्सार विभागलाई तुरुन्त ‘यात्री शाखा’ (यात्रु टर्मिनल) सहित सञ्चालनमा ल्याउन निर्देशन दिनुभएसँगै त्यसको तयारी थालिएको वीरगंज भन्सारले जनाएको छ  । 

यो नयाँ व्यवस्थाले तेस्रो देशका पर्यटकहरूलाई इमिग्रेशन तथा कस्टम–सम्बन्धी सबै सुविधा आईसीपि भित्रै उपलब्ध गराउनेछ, जसले नेपाल–भारतबीचको पर्यटन प्रवाहमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले “भारतीय र नेपाली नागरिकको सामान्य आवतजावत पहिलेझैँ मैत्री पुल नाकामार्फत नै हुने र आईसिपी मुख्यतः तेस्रो देशका यात्रु र सुव्यवस्थित सीमा प्रबन्धनका लागि भएको बताउनुभयो । 

उहाँले आईसिपी लाई पूर्ण क्षमतामा सञ्चालन गर्न र मुख्य व्यापारिक मार्गमा परेको चाप कम गर्न निर्देशन दिएसँगै आवश्यक तयारी थालिएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताउनुभयो । 

वीरगंज भन्सारमा वर्षौँदेखि थन्किएर रहेको कन्टेनर एक्स–रे मेशिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

महँगो मूल्यमा आयात गरिएको सो मेशिन सञ्चालनमा आउन नसक्दा सुरक्षा व्यवस्थापन र राजस्व सङ्कलनमा ठूलो जोखिम बढेको थियो । 

कन्टेनर एक्स–रे मेशिन सञ्चालनमा आएपछि–व्यापारिक सामानको चेकजाँच छिटो र सुरक्षित, तस्करी नियन्त्रण प्रभावकारी, राजस्व चुहावट रोकथाममा ठूलो सुधार हुने छ । भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित आइसिपी परियोजना उद्घाटन भएको ८ बर्ष बितिसक्दा पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । 

आईसिपीको सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । 

झण्डै ३ अर्ब रुपैयाँमा निर्माण गरिएको एकिकृत सुरक्षा जाँच चौकी (आईसिपी) पूर्णरुपमा सञ्चालनपछि व्यापार, पर्यटन, सीमा सुरक्षा तीनै क्षेत्रमा नयाँ मानक स्थापित हुने अपेक्षा गरिएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button