तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखमा रास्वपाका सांसद अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ I प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

बैठकमा सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले प्रस्ताव गर्नुभएको थियो ।

प्रस्तावलाई अर्थमन्त्री एवं सांसद स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकाशमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभएको थियो ।

प्रस्तावको समर्थन गर्दै उहाँहरूले यस अघिको संसदमा पनि सांसद अर्यालले महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको स्मरण गर्दै आगामी दिनमा प्रतिनिधिसभाको प्रमुख पदमा रहेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद अर्याल कुनै पनि दलीय आबद्धता नराखी तटस्थ प्रत्याभूत हुनेगरी काम गर्नमा खरो रुपमा प्रस्तुत हुने विश्वास गर्दै उहाँहरूले प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षी दलहरूप्रति थप उदार र सहिष्णु हुनुपर्ने पार्टीको मान्यताका साथ अघि बढ्ने पनि बताउनुभयो ।

सभामुख अर्जुननरसिंह केसीले संघीय संसद् प्रतिनिधिसभाको सभामुख पदमा सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दै आफ्नो व्यक्तिगत र प्रतिनिधिसभाको तर्फबाट बधाई दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button