तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा १ सय २४ कुष्ठरोगीले उपचार सेवा लिँदै

वीरगञ्ज । पर्सा जिल्लामा हाल १ सय २४ कुष्ठरोगीका बिरामीले उपचार लिइरहेका छन् ।

पर्सामा १ सय २४ जना बिरामीले हाल उपचार सेवा लिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग नियन्त्रक शम्भु यादवले जानकारी दिनुभयो । उहाँले तीमध्ये ८२ जनामा बढी सर्ने र ४२ जनामा कम सर्ने बिरामी रहेको बताउनुभयो ।

मधेस प्रदेशमा अझै पनि कुष्ठरोगलाई कुकर्मको पाप वा दैवी श्रापका रूपमा हेर्ने पुरातन सोच कायम रहेको छ ।

कुष्ठरोग श्राप वा पापको कारण नभई उपचारको अभावमा गम्भीर बन्दै जाने रोग भएको पर्साका जन स्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।

गलत सोचका कारण रोगीहरू उपचारबाट टाढा रहने, रोग लुकाउने प्रवृत्ति अझै देखिएको र त्यसकै कारण पर्सामा बिरामीको सख्या बढिरहेको बताइएको छ । ठाकुरले समाजमा कुष्ठरोगबारे गलत धारणा अझै गहिरो रूपमा जरा गाडेर बसेको बताउनुभयो ।

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट लाग्ने सरुवा रोग हो । समयमैं उपचार गरेमा यो पूर्णरूपमा निको हुन सक्छ । त्यसैले सही सूचना समाजमा प्रवाह गर्नु अत्यन्त आवश्यक रहेको ठाकुरले बताउनुभयो ।

पर्सा जिल्लामा चालू आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा १७ जना रहेका छन् । अन्य स्थानीय तहहरूमा छिपहरमाई, विन्ध्यवासिनी र पकाहामैनपुर गाउँपालिकामा पाँच/पाँच जना, पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकामा चार/चार जना, जीराभवानी गाउँपालिका र बहुदरमाई नगरपालिकामा दुई/दुई जना तथा पर्सागढी नगरपालिका र पटेर्वासुगौली गाउँपालिकामा एक÷एक जना नयाँ सङ्क्रमित भेटिएका छन् । ठोरी, कालिकामाई र धोबिनी गाउँपालिकामा भने हालसम्म नयाँ सङ्क्रमित फेला नपरेको जनाइएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने पर्साका १४ वटै पालिकामा गरी १०९ जना कुष्ठरोगी फेला परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button