तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा गहुँ भित्र्याउने चटारो, किसान दिनरात खेतमै

बाँके। बाँके जिल्लाका किसानहरू यतिबेला गहुँबाली भित्र्याउने चटारोमा व्यस्त भएका छन्। गहुँसँगै मसुरोलगायतका बाली भित्र्याउने मुख्य समय भएकाले गाउँ–गाउँका खेतबारीमा किसानको चहलपहल उल्लेख्य रूपमा बढेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म किसानहरू खेतमै खटिएका छन्।

राप्ती सोनारी गाउँपालिका–७ का कृषक अमर बहादुर घर्ती पनि अन्य किसानझैँ गहुँबाली भित्र्याउन दिनरात मेहनत गरिरहेका छन्। उहाँका अनुसार अचेल घरायसी कामभन्दा खेतबारीमै बढी समय बित्ने गरेको छ।

“घरको सबै काम छोडेर खेतमै बढी समय बित्छ। बिहान सबेरै उठेर खेत जाने र झिसमिसे अँध्यारोमा फर्किने दिनचर्या नै बनेको छ,” उहाँले भन्नुभयो।

केही दिनयता गर्मी बढ्दै गएको र मौसम पनि अनिश्चित रहेकाले किसानहरू बाली सुरक्षित रूपमा भित्र्याउन थप चिन्तित बनेका छन्। मौसमको अनियमितताले किसानको अधिकांश समय खेतमै बित्ने गरेको घर्ती बताउनुहुन्छ।

स्थानीय कृषक भागीराम चौधरीका अनुसार शनिबार राति आएको हावाहुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ। बाली भित्र्याउने मुख्य समयमा आएको प्रतिकूल मौसमले धेरै किसानको मेहनतमाथि असर परेको उहाँले बताउनुभयो।

“गहुँ काट्ने र भित्र्याउने बेलामै हावाहुरी र पानी परेपछि बालीमा नोक्सानी पुगेको छ,” उहाँले भन्नुभयो।

पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा गहुँ दाइँ तथा भित्र्याउन केही सहज भएको किसानहरू बताउँछन्। कतिपय किसानले पालोपैचो तथा पर्मा प्रणालीमार्फत एकअर्कालाई सहयोग गर्दै गहुँ काट्ने तथा थ्रेसर प्रयोग गरी अन्न भित्र्याउने काम गरिरहेका छन्।

किसानका लागि यो समय वर्षभरिको अन्न सुरक्षित गर्ने मात्र नभई बाँकी रहेको गहुँ तथा दलहन बिक्री गरेर घरखर्च जुटाउने महत्वपूर्ण अवसर पनि हो। त्यसैले अधिकांश किसान यतिबेला खेतबारीमै केन्द्रित भएका छन्।

कृषि ज्ञान केन्द्र, बाँकेका अनुसार यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि प्राकृतिक प्रकोपका कारण किसान मर्कामा पर्न सक्ने जोखिम रहेको छ। केन्द्रले सकेसम्म आधुनिक उपकरणको प्रयोग गरी छिटो र सुरक्षित रूपमा अन्नबाली भित्र्याउन किसानलाई आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button