पाँच वर्षदेखि अलपत्र बाउली खोला पुल ३ महिना भित्र काम सक्न प्रशासनको ताकेता
बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी तथा यात्रुहरू विशेषगरी वर्षायाममा सास्ती खेप्न बाध्य भएका छन्।

निर्माण कार्यमा ढिलासुस्ती बढेपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायासहितको टोलीले स्थलगत अनुगमन गर्नुहुँदै निर्माण कम्पनीलाई काम तीव्र बनाउन कडा निर्देशन दिएको छ। तीन महिनाभित्र उल्लेखनीय प्रगति नभए कानुनी कारबाही र कालोसूचीमा राख्ने चेतावनीसमेत दिइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
सम्झौताअनुसार १६ महिनाभित्र सम्पन्न हुनुपर्ने पुल हालसम्म करिब २१ प्रतिशत मात्र प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ। धनगढीस्थित टिडिआर–जुगल कौशिक जेभीले २०७८ सालमै निर्माण जिम्मा लिएको भए पनि पटक–पटक म्याद थप हुँदा समेत काम अघि बढ्न सकेको छैन। पुल नहुँदा बडीमालिका नगरपालिका लगायत पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहका बासिन्दा सँगै हुम्ला, मुगु र कालिकोटका नागरिक प्रभावित भएका छन्। पुल नहुँदा वर्षायाममा आवतजावत निकै कठिन हुने स्थानीय लाल बहादुर विकले गुनासो गर्नुभयो।
सडक डिभिजन कार्यालयका अनुसार २०७८ कार्तिक १५ गते पाँच करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरी २०७८ फागुन १५ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । हालसम्म ९० लाख ५६ हजारभन्दा बढी रकम भुक्तानी भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा निर्माण कार्य शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्