तपाईँ सुन्दै हुनुहुन्छः

चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राको तयारी तीव्र

भक्तपुर । चैत २७ गते शुक्रबारदेखि सुरु हुने विश्व प्रसिद्ध बिस्केट (बिस्का) जात्राको तयारी तीव्र गतिमा अघि बढेको छ ।

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण भइरहेको छ ।

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको कार्य चैत २६ गतेसम्म सम्पन्न हुने गुठी संस्थान भक्तपुर कार्यालयले जनाएको छ ।

प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भैरवको रथ निर्माण सम्पन्न भए लगत्तै भद्रकालीको रथ निर्माण पनि सुरु गरिने जानकारी दिनुभयो ।

भैरव रथ निर्माणको क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्राहरू जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुराहरू मर्मत गर्ने, चुकुलहरू फेर्ने, नयाँ आसी जडान गर्ने, छानो मर्मत गर्ने र रथ निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । 

चैत २६ गतेसम्म रथमा रङ्ग रोगन एवं सिँगार पटार गर्ने कार्य गरिने र २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा तीन बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने गरि तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

लिच्छवि कालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथ यात्रा गरी सुरु गरिने परम्परा छ । 

जात्राको मुख्य आकर्षण भनेकै रथ जात्रा र लिङ्गो जात्रा  हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । 

रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा छ भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका निवर्तमान मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनभयो । 

वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर  तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । 

त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button