तपाईँ सुन्दै हुनुहुन्छः

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षा मन्त्री पोखरेलको चासो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गर्नुभएको हो ।

सो अवसरमा शिक्षा मन्त्री पोखरेलले संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताउनुभयो । उहाँले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षामन्त्री पोखरेलले भन्नुभयो, “यी दुवै सरकारी संस्थाहरूलाई सरकारको तर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ । मन्त्रालय र तद्निकायका पदाधिकारी बसेर कुन किसिमको समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।”

शिक्षा मन्त्री पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाइलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिनुभयो ।

त्यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिनुभयो । उहाँले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन्, त्यसलाई फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ती दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button