रेडियो नेपाल धनकुटाले पनि ७६ औँ वार्षिकोत्सव मनायो
विष्णु माया सिङ्गक/सन्देश सुब्बा,
धनकुटा । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार प्रादेशिक प्रसारण कार्यालय धनकुटाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सव एवम् प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण आरम्भ भएको ३३ वर्ष प्रवेश गरेको अवसरमा धनकुटा स्थित सरोकारवालाहरूको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटनका अवसरमा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले नेपाली नागरिकलाई सुसूचित गर्न रेडियो नेपालले पुर्याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै आगामी दिनमा आफ्नो प्रसारण सेवालाई समयानुकूल थप प्रभावकारी बनाउदै लान सुझाव दिनुभयो ।
कार्यक्रममा धनकुटा जिल्ला अस्पतालका प्रमुख डा.सन्तोष राई, धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद दाहाल, प्रेस स्वतन्त्रता सेनानी सञ्जय सन्तोषी राई, राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान महाप्रबन्धक सिद्धराज राई, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का उपाध्यक्ष गोपाल बराइली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले सार्वजनिक सेवा प्रसारण सेवामा रूपान्तरण भएको रेडियो नेपालले दूर दराज र नागरिकका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा रेडियो नेपाल धनकुटासँग नियमित सहकार्य गर्ने सहिदभुमि गाउँपालिका, धनकुटा नगरपालिका र स्वास्थ्य निर्देशनालय धनकुटालाई सम्मान गरिएको छ । कार्यक्रमको प्रारम्भमा प्रादेशिक प्रसारण कार्यालय धनकुटाकी समाचार सम्पादक सुखकुमारी राईले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रम सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले प्रविधिको विकासले ल्याएको परिवर्तनलाई मध्यनजर गर्दै माथिल्लो निकायको निर्देशन, आम श्रोताहरूको सुझाव र प्रतिक्रिया अनुरुप प्रभावकारी प्रसारण सेवा प्रदान गर्न प्रादेशिक प्रसारण कार्यालय धनकुटा प्रतिबद्ध रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्