लन टेनिसको उपाधि प्रणव मानन्धरलाई
रुपन्देही । आठौँ राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता-२०८२ को उपाधि प्रणव मानन्धरले चुमेका छन् ।
रुपन्देही लन टेनिस सङ्घको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा भएको पुरुष एकलको फाइनलमा आयुषमान घलेलाई २-६, ६-०, ६-२ को सेटमा पराजित गर्दै उपाधि चुमे । उपाधिसँगै उनले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भए ।
उपविजेता घले भने नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाए ।
शुक्रबार नै सम्पन्न ३५ प्लस सिङ्गलको उपाधि भने कमल बहादुर भण्डारी जितेका छन् । फाइनलमा अनिल साइलाई ३-६, ६-१, १०-७ को सेटमा पराजित गर्दै भण्डारीले उपाधि चुमेका हुन् । प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिस्पर्धा भएको संघका कोषाध्यक्ष डा प्रकाश बस्नेतले बताए ।
प्रतियोगितामा पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतीय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको उनले बताए ।
यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपाल टेनिस संघका केन्द्रिय अध्यक्ष मनोहरदास मुल, केन्द्रिय सदस्यहरु गोपाल ज्ञवाली, अशोक गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्