कुटपिटबाट किशोरको मृत्यु, अर्का घाइते
दाङ । दाङको राप्ती गाउँपालिकामा कुटपिटपछि एक किशोर मृत फेला परेका छन् भने अर्का एक घाइते भएका छन् ।
राप्ती गाउँपालिका–२ बह्राखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बह्राखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए ।
उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो । घटनापछि आयुशमान राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए । त्यसपछि उनको उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया लगिएको थियो । हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घाइते आयुशमानसँग सोधपुछ गर्दा सुरुमा केही नबताए पनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा थप टोली खटाइएको थियो । खोजतलासका क्रममा घटनास्थलदेखि करिब १.५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्