तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक सत्र शुरु हुनु अगावै बाजुरामा आइपुगे पाठ्यपुस्तक

बाजुरा । हिमाली जिल्ला बाजुरामा  यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक आइपुगेका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समय सम्म किताब  नपुग्ने बाजुरामा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्।  

बाजुरामा अघिल्ला २ वर्ष यता समयमै पाठ्यपुस्तक पुग्न थालेका हुन् । सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको  निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराका प्रमुख टिकाराम जोशीले जानकारी दिनुभयो । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकहरूको भनाइ रहेको छ। यस वर्ष पहिलो चरणमा जिल्लाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा आइपुगेका डेल्टा स्टेशनरीका सञ्चालक नृप खातीले बताउनुभयो । 

स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदो शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । बाजुरामा २ सय ३७ ओटा सामुदायिक विद्यालय रहेका जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराले जनाएको छ । देशभर वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भए सँगै बाजुरामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । समयमै पाठ्यपुस्तक उपलब्ध भएपछि यस वर्ष बालबालिकाको पढाइ थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button