तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति कृषक पुरस्कार विजेता मौर्य आलु बीउ ‘ग्रेडिङ’मा व्यस्त

बाँके। बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका राष्ट्रपति कृषक पुरस्कार विजेता किसान जयपाल मौर्य यतिबेला आलुको बीउ ‘ग्रेडिङ’ कार्यमा व्यस्त हुनुहुन्छ। गत वर्ष जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका ४३ वर्षीय मौर्यले यस वर्ष १०१ कट्ठा जमिनमा उत्पादन गरिएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिनुभयो।

दुई दशकदेखि कृषिमा सक्रिय मौर्यका अनुसार यस वर्ष करिब ८ सय क्विन्टल आलुको बीउ उत्पादन भएको छ। उत्पादन गरिएको बीउ स्थानीय सरकारले निर्माण गरेको कोल्ड स्टोरमा भण्डारण गरिएको छ।

“एक सातादेखि आलुको बीउ ग्रेडिङ भइरहेको छ, शुक्रबारसम्म काम सकिनेछ,” मौर्यले भन्नुभयो।

उहाँका अनुसार यस वर्ष उन्नत जातको ‘कार्डिनल’ आलु ठूलो क्षेत्रफलमा खेती गरिएकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो। अघिल्ला वर्षमा सीमित उत्पादन हुने उक्त जातको आलु यसपटक बढी जमिनमा लगाइएकाले राम्रो परिणाम आएको उहाँको भनाइ छ।

यस खेतीमा करिब ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा कोल्ड स्टोरबाट बीउ निकालेर प्रतिकिलो ३५ देखि ५५ रुपैयाँसम्म बिक्री हुने बताउनुभयो। यसबाट करिब १२ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

किसानहरूका अनुसार कात्तिक मसान्त वा मङ्सिरमा रोपिएको आलुको बीउ उत्पादन हुन ९० देखि १२० दिनसम्म लाग्ने गर्दछ। कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकिलो ४ रुपैयाँ शुल्क लाग्ने गर्दछ। डुडुवासँगै कोहलपुरमा पनि कोल्ड स्टोर सुविधा उपलब्ध रहेको छ।

कृषि ज्ञान केन्द्र, नेपालगन्जबाट उपलब्ध गराइएको उन्नत जातको पीबीएस दानाबाट बीउ उत्पादन गरिएको मौर्यले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले आलुको पीबीएस दानालाई दोस्रो र तेस्रो पुस्तासम्म विस्तार गर्न सकिने बताउँदै जिल्लामा आलु बीउ उत्पादन विस्तारमा जोड दिइएको जानकारी दिनुभयो।

त्यसैगरी, वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले गुणस्तरीय आलु बीउ उत्पादनका लागि किसानले अनिवार्य रूपमा तालिम लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। अन्यथा उत्पादन प्रक्रियामा समस्या आउन सक्ने उहाँको भनाइ छ।

उहाँका अनुसार सिन्धुपाल्चोकबाट ल्याइएको पीबीएस दानाबाट बाँकेमा राम्रो उत्पादन भइरहेको छ। किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button