तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको पहिलो बैठक यस्तो देखियो…

काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । 

संसद्का ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा आज बसेको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ । 

बैठकमा सभाध्यक्ष अर्जुन नरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापना गर्ने लगायत जनताको अपेक्षा पुरा गर्न नवगठित प्रतिनिधि सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिनिधि सभाको आजको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभालाई जनताले ठूलो भरोसाका साथ हेरेकोले सरकार मात्र नभई शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तन जनताको चाहना रहेको उल्लेख गर्नुभयो । 

सम्बोधनका क्रममा सभाध्यक्ष केसीले लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो प्रतिनिधिसभा रहेको भन्नुहुँदै जनअपेक्षा अनुरुप परिवर्तनका लागि सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो । 

सभाध्यक्ष केसीले संवैधानिक संस्थाको निष्पक्षता, पारदर्शीता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिनुहुँदै संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा पनि राख्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले जनताले दिएको मतादेशको  जिम्मेवारी कामबाटै पुरा गर्ने बताउनुभयो । 

सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गर्नुभयो ।     

सभापति लामिछानेले सरकारले व्यावसायिक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जातीय र लैङ्गिक आधारमा कुनै विभेद अन्त्य, ज्येष्ठ नागरिक सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताउनुभयो ।     

बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभएको छ ।     

सांसद आङ्देम्बेले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।   

यस्तै गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न र संसद् भवन, सिंहदरबार जस्ता ऐतिहासिक संरचनामा भएको क्षतिको यथार्थ सार्वजनिक गर्न पनि माग गर्नुभयो । 

सांसद आङ्देम्बेले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुहुँदै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।     

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानबिनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजित रूपमा भएको आरोप समेत लगाउनुभयो ।     

नेपाली कम्युनिष्ट पार्टी नेकपा सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै सांसद पुनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।    

सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

अध्यक्ष राईले जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गदै शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो ।     

सांसद शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने र  निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिनुभयो । 

सांसद शाहीले आधुनिक पूर्वाधार विकासका कार्यक्रम लागू भइरहे पनि कर्णाली प्रदेशमा अपेक्षित विकास पुग्न नसकेकाले सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभयो ।     

यस्तै स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताउनुभयो । 

सांसद पुनले हाल सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।     

सांसद पुनले नेपालमा विज्ञान तथा प्रविधिको प्रवद्र्धनलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुहुँदै विद्यालय शिक्षामा देखिएका विभिन्न विकृतिलाई सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्नुभएको छ । 

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत मन्त्री गुरुङले नागरिकता सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२ र नेपाल विशेष सेवा तेस्रो संशोधन अध्यादेश, २०८२ पेस गर्नुभयो ।     

यस्तै बैठकमा गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न नेपाल विशेष सेवा तेस्रो संशोधन अध्यादेश जारी भएको जानकारी गराउनुभयो । 

बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।     

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button