धुलो र धुवाँको सास्तीपछि स्थानीयले कम्दीमा गरे टिप्पर अवरुद्ध

बाँके । बाँकेको डुडुवा गाउँपालिका–स्थित कम्दीमा स्थानीयवासीले धुलो र धुवाँका कारण उत्पन्न प्रदूषणको विरोध गर्दै टिप्पर सञ्चालन अवरुद्ध गरेका छन् । सडकमा नियमित रूपमा पानी नहालिँदा अत्यधिक धुलो उडेको र सवारी साधनबाट निस्किने धुवाँले वातावरण असह्य बनेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
स्थानीयका अनुसार, पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको हो । “धुलोका कारण घरभित्र बस्नै नसक्ने अवस्था भयो, स्वास्थ्यमा पनि असर पर्न थालेको छ,” स्थानीय भोला यादवले गुनासो गरे ।
प्रदूषण नियन्त्रणका लागि सडकमा नियमित पानी हाल्ने, सवारी साधनलाई मापदण्डअनुसार सञ्चालन गर्ने लगायतका माग राख्दै स्थानीयले टिप्पर रोकेका छन् । अवरोधका कारण कम्दीचोकदेखि राप्ती पुलतर्फ टिप्परको लामो लाइन लागेको छ भने आवतजावत प्रभावित बनेको छ ।
स्थिति नियन्त्रणमा ल्याउन र समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जनाइएको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्