तपाईँ सुन्दै हुनुहुन्छः

सुर्ती खेतीतर्फ बढ्दो आकर्षण, जलवायु जोखिमबीच किसानको विकल्प

रौतहट। जलवायुजन्य जोखिम बढ्दै जाँदा तराईका किसानहरू विकल्प खोज्न बाध्य भइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडीबेला र आसपासका क्षेत्रमा सुर्ती खेती विस्तार हुन थालेको छ। एक समय घट्दो अवस्थामा पुगेको सुर्ती अहिले पुनः मुख्य नगदे बालीको रूपमा स्थापित हुँदै गएको किसानहरू बताउँछन्।

करिब दुई दशकअघि यस क्षेत्रमा व्यापक रूपमा सुर्ती खेती हुने गरे पनि सिँचाइ सुविधा विस्तारसँगै किसानहरू मकै खेतीतर्फ आकर्षित भएका थिए। तर पछिल्ला वर्षहरूमा असिना, हावाहुरीजस्ता प्राकृतिक प्रकोपका कारण मकै बालीमा लगातार क्षति हुन थालेपछि किसानहरू पुनः सुर्ती खेतीतर्फ फर्किएका हुन्।

स्थानीय किसान सीता देवी अधिकारीका अनुसार मकै खेतीमा बढी मेहनत र जोखिम हुने भएकाले सुर्ती रोज्नुपरेको हो। उहाँ भन्नुहुन्छ, “वर्षेनी प्राकृतिक विपत्तिले मकै बाली नष्ट हुन्छ, सुर्तीमा त्यस्तो जोखिम कम छ।” साथै, बाराको सिमरास्थित सूर्य टोबा कम्पनीले खेतबाटै सुर्ती खरिद गर्नुका साथै बिउसमेत उपलब्ध गराउने गरेकाले बजारको चिन्ता नरहेको उहाँको भनाइ छ।

अर्की किसान संगीतादेवी चौधरीका अनुसार सुर्ती खेती महिलामैत्री पनि बनेको छ। “कम मेहनतमा सम्भव हुन्छ, घरपरिवारमै काम गर्न सकिन्छ,” उहाँले बताउनुभयो। धानपछिको खाली जमिनमा कार्तिकमा रोपिएको सुर्ती फागुनदेखि बिक्री हुने र करिब ६ महिनामै प्रतिकठ्ठा १५ देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको अनुभव छ।

किसान भिमबहादुर पुलामीका अनुसार सुर्ती खेतीमा कम सिँचाइमै राम्रो उत्पादन लिन सकिन्छ भने भण्डारण र प्याकिङ पनि घरमै गर्न सकिन्छ। श्रमिक अभावका बीच पारिवारिक श्रममै खेती सञ्चालन गर्न सकिनु यसको अर्को विशेषता भएको उहाँ बताउनुहुन्छ।

हाल जुडीबेला क्षेत्रमा मात्रै करिब १०० बिघाभन्दा बढी जमिनमा सुर्ती खेती विस्तार भइसकेको किसानहरूले जनाएका छन्। स्थिर बजार, तुलनात्मक रूपमा कम जोखिम र राम्रो आम्दानीका कारण यहाँका किसानहरू सुर्ती खेतीतर्फ अझ आकर्षित बन्दै गइरहेका छन्।

कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण परम्परागत बालीहरूमा जोखिम बढ्दै जाँदा किसानहरूले बजार सुनिश्चित भएका नगदे बालीतर्फ आकर्षण देखाउनु स्वाभाविक हो। तर, सुर्ती जस्ता बालीको विस्तारसँगै स्वास्थ्य र दीर्घकालीन कृषिगत विविधीकरणका विषयमा पनि सन्तुलित नीति आवश्यक रहेको उनीहरूको सुझाव छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button