आर्थिक गणनाका लागि मोरङमा १ सय ७८ गणक परिचालन हुने
विराटनगर । मोरङ जिल्लामा पनि आर्थिक गणना हुने भएको छ । अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नारा सहित आगामी बैशाख २ देखि २०८३ सालको असार ७ गतेसम्म आर्थिक गणना हुन लागेको हो ।
देशभर राष्ट्रिय आर्थिक गणनासँगै १७ स्थानीय तह रहेको मोरङमा आर्थिक गणना कार्यालय (क) र (ख) स्थापना गरि तयारी अगाडी बढाइएको छ ।
आर्थिक गणनाका लागि फिल्डमा सुपरिवेक्षक र गणक गरि १७८ जना परिचालन हुने भएका छन् । गणकहरूको छनौट कार्य अन्तिम चरणमा रहेको जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले जानकारी दिनुभयो ।

गणकहरूले सञ्चालनमा रहेका दर्ता भएका वा नभएका, साना वा ठुला, घरपरिवारबाट सञ्चालित र सडक तथा हाटबजारमा सञ्चालित ब्यापार व्यवसायहरूको गणना गर्ने अधिकारीले बताउनुभयो ।
विराटनगरमा सरोकारवालाहरूसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले देशको आर्थिक संरचना बुझ्नका लागि दोस्रो पटक आर्थिक गणना हुन लागेको बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आर्थिक गणनाको प्रयोजनका लागि मात्रै तथ्याङ्क सङ्कलन गरिने र नतिजा सामूहिक प्रकाशन हुने भएकाले तथ्य सहितको सही तथ्याङ्क उपलब्ध गराउन सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले तथ्याङ्क सही र प्रष्ट रुपमा सङ्कलन गर्न आग्रह गर्नुभयो । सही तथ्याङ्क आए मात्रै देशको आर्थिक अवस्थाका बारेमा थाहा हुने उहाँले बताउनुभयो ।
नेपालमा यसअघि २०७५ मा पहिलो पटक आर्थिक गणना गरिएको थियो । पहिलो आर्थिक गणना अनुसार मोरङमा ३५ हजार २४७ औद्योगिक प्रतिष्ठान रहेको र १ लाख २७ हजार ८८७ जनशक्ति कार्यरत रहेको सो अवसरमा जानकारी गराइयो ।








प्रतिक्रिया राख्नुहोस्