प्रधानमन्त्री शाहसँग पर्साका सांसदहरूको भेटघाट
वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद हरि पन्त र क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले भेटघाट गर्नुभएको छ ।

भेटका क्रममा वहाँहरूले वीरगञ्ज र आसपासका जनजीवनसँग जोडिएका अत्यन्त महत्त्वपूर्ण तथा गम्भीर विषयहरू उठाएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले आज मधेस प्रदेशका सांसदहरूसँग गर्नुभएको भेटघाटको क्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद पन्तले विशेष गरी सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न अधिकार सम्पन्न समिति गठन गरी समय सीमा तोकेर समाधान गर्नुपर्ने माग गर्नुभयो । लामो समयदेखि आश्वासन मात्र पाइरहेका वीरगन्जवासीले यस पटक स्थायी समाधान खोजेको उहाँले बताउनुभयो ।
त्यस्तै पन्तले किसानहरूलाई चाहिएको समयमा पर्याप्त मात्रामा मल खाद उपलब्ध गराउन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगञ्जका क्यासिनोहरूले नेपाली नागरिकहरूलाई अवैध रूपमा प्रवेश गराएर स्थानीय बासिन्दाको आर्थिक अवस्था बिगारिरहेको आरोप लगाउँदै स्थानीय प्रशासन र प्रहरीलाई कडा निर्देशन दिन पनि पन्तले आग्रह गर्नुभयो । प्रहरी र प्रशासन मूकदर्शक बनेको भन्दै उहाँले यसलाई तत्काल रोक्न माग गर्नुभयो ।
उहाँले वीरगञ्ज महानगरपालिकाले विभिन्न ठाउँमा ढाट राखेर अवैध कर असुली गरिरहेको प्रसङ्ग उजागर गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबिच जिम्मेवारी नलिने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी सांसद सुशील कुमार कानुले वीरगञ्जका अन्य ज्वलन्त विषयहरू प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले नारायणी रङ्गशालाको पुनर्निर्माण, ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नति, हरिखेतान बहुमुखी क्याम्पसका समस्या समाधान, चिनी कारखाना सञ्चालन वा उचित व्यवस्थापन, पर्सा–बारा औद्योगिक कोरिडोरको स्थापना, वीरगञ्ज नाकाबाट हुने अवैध कारोबार नियन्त्रण, नारायणी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गरी सेवा सुधार, जनशक्ति व्यवस्थापन र स्रोत उपलब्धता जस्ता मुद्दाहरू उठाउनुभयो ।
यसैगरी उहाँले वीरगञ्जको मुख्य सडक विस्तारमा छिटो निर्णय लिन, नयाँ उद्योग स्थापना गर्न, बन्द उद्योग सञ्चालन गर्न, उद्योगीहरूको आत्मबल बढाउने नीति ल्याउन र भन्सारमा इन्ट्री तथा चेकजाँचको नाममा भारतीय पर्यटकहरूलाई दिइने सास्ती रोक्नुपर्ने विषय पनि प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।
सबै विषय सुनेपछि प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल प्रहरी महानिरीक्षक र गृह सचिवलाई निर्देशन दिने बताउनुभयो । उहाँले जनप्रतिनिधिले भनेका जायज कुरा जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले नसुन्ने कुरै नहुने कताउनुभयो ।
भेटघाटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्