प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट : बागमती प्रदेशको दोस्रो जित
काठमाडौँ । कप्तान सन्दीप लामिछानेको कसिलो बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको हो । जितसँगै ४ अंक पुर्याएको बागमती छैटौँ स्थानमा उक्लिएको छ । समान ५ खेल खेलेको कर्णाली ३ अङ्कसहित आठौँ स्थानमा छ ।
बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमै १२० रनमा समेटियो । कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
बागमतीका कप्तान सन्दीपले घातक बलिङ गर्दै एक्लै ७ विकेट लिए । यसअघि रामजानकी बहुउद्देश्यीय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो ।
विवेक मगरले ५६ रन बनाए । शिवम तिवारी १८, शुभ कंसाकार २०, पवन थापा २२ र इशान पाण्डे २७ रनमा आउट भए । कर्णालीका दिवान पुनले ३ विकेट लिँदा प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावलले समान २–२ विकेट लिए ।
अर्को खेलमा सुपर ओभरमा एपिएफ क्लबलाई हराउँदै लुम्बिनी प्रदेश दोस्रो जित निकाल्न सफल भएको छ । लुम्बिनीको जितमा सन्तोष यादवको प्रदर्शन प्रमुख रह्यो ।
एपिएफले दिएको १ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १ सय २४ रनमा अल आउट भएपछि खेलको निर्णय सुपर ओभरबाट भयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ विकेटको क्षतिमा १४ रन बनायो । आकाश त्रिपाठी डक आउट हुँदा सन्तोष यादवले ८ रन र कप्तान देव खनालले १ रन बनाए ।
१५ रनको लक्ष्य पछाएको एपिएफ १ विकेट गुमाएर ६ रनमा समेटियो । लुम्बिनीका सन्तोष यादवको बलिङमा कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा लोकेश बमले ४ र सन्दीप जोराले १ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफ ३९.४ ओभरमा खेल्दै १ सय २४ रनमा समेटियो । एपिएफका खेलाडीले निराशाजनक ब्याटिङ गर्दा नवौं क्रमका अभिषेक गौतमले सर्वाधिक २८ रन बनाए ।
ओपनर दीपक बोहराले २० रन, सन्दीप जोराले १७ रन तथा आशिफ शेख र लोकेश बमले समान १५ रन बनाए । कमल ऐरीले ११ रन बनाउँदा अन्य ४ खेलाडीले रनको खाता खोल्न सकेनन् ।
बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिँदै उत्कृष्ट ब्याटिङ गरे । सन्तोषले ३ विकेट लिए । यस्तै निर्मल गुरुङले २ विकेट लिए । जितको लागि १ सय २५ रनको लक्ष्य पछाएको लुम्बिनी ३४ ओभरमा अल आउट हुँदै १ सय २४ रनमा समेटियो ।
५ खेलमा दोस्रो जित सहित लुम्बिनी ५ अंक बनाएर पाँचौँ स्थानमा रहेको छ । एपिएफ ३ अंक सहित छैटौँ स्थानमा छ ।








प्रतिक्रिया राख्नुहोस्