जुम्लाको हिमामा सुख्खा पहिरो खस्दा तीन घरमा क्षति
जुम्ला।जुम्लाको हिमा गाउँपालिका–६ खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो खस्दा तीनवटा घरमा क्षति पुगेको छ। मंगलबार दिउँसो गाउँमाथिबाट खसेको सुख्खा पहिरोले उक्त क्षति भएको हो।
पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एक पूर्ण रूपमा नष्ट भएको छ भने अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ। पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।
घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्। दिउँसोको समयमा पहिरो गएको कारण मानवीय क्षति भने नभएको बताइएको छ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा ढुङ्गा खस्ने जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि स्थानीय सरकारलाई निवेदन दिएका थिए। जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिएका भए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ।
हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरूलाई हालसम्म कतैबाट राहत प्रदान तथा पुनर्स्थापनाको कुनै पहल हुन सकेको छैन।








प्रतिक्रिया राख्नुहोस्