पैदलमार्ग निर्माणपछि सहज बन्दै बडिमालिका यात्रा
बाजुरा ।सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रको यात्रा पछिल्लो समय थप सहज बन्दै गएको छ। बुढीगंगा नगरपालिका–२ बल्देस्थित बडिमालिका मन्दिर प्रवेशद्वारदेखि बडिमालिका नगरपालिका–५ मना हुँदै मन्दिरसम्म निर्माण गरिएको पदमार्गका कारण श्रद्धालु तथा पर्यटकलाई आवतजावत गर्न निकै सजिलो भएको हो।

नेपाल सरकारको पुरातत्त्व विभागमार्फत दुई करोडभन्दा बढी लागतमा निर्माण गरिएको उक्त पदमार्गमा अप्ठ्यारो तथा जोखिमयुक्त स्थानहरूमा ढुङ्गाका आकर्षक खुट्किला र फलामका रेलिङ जडान गरिएको छ। निर्माण कार्यमा संलग्न त्रिवेणी नगरपालिका–९ पैमाका स्थानीय दयाराम थापाका अनुसार पदमार्गले यात्रालाई सुरक्षित र व्यवस्थित बनाएको छ।
पदमार्ग निर्माणसँगै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका मन्दिरमा पुग्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ। समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित यस मन्दिरलाई शक्तिस्वरूपा देवी बडिमालिकाको वासस्थलका रूपमा श्रद्धालुहरूले उच्च आस्था र विश्वासका साथ पूजाआजा गर्दै आएका छन्।

यसअघि दुर्गम र जोखिमपूर्ण बाटोका कारण वर्षभरि नै सहज रूपमा पुग्न कठिन हुने बडिमालिका यात्रा अहिले भने क्रमशः सहज गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
पुजारी नेत्र उपाध्यायका अनुसार बडिमालिका मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा थप विकास गर्न सडक पहुँच विस्तार, पर्यटकीय पूर्वाधार निर्माण तथा प्रभावकारी प्रचार–प्रसारमा राज्यले थप ध्यान दिन आवश्यक रहेको छ।
पदमार्ग निर्माणपछि सहज बन्दै गएको बडिमालिका यात्रा अब धार्मिक मात्र नभई साहसिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि चिनिने स्थानीयवासीको विश्वास छ।








प्रतिक्रिया राख्नुहोस्