बागमतीमा मन्त्रालय संख्या ७ मा सीमित गर्न कांग्रेसको प्रस्ताव
मकवानपुर।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको प्रशासनिक संरचना सानो बनाउने प्रस्ताव अघि सारेको छ। दलको बैठकले हाल रहेका १३ वटा मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।
बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको थियो। बैठकको अध्यक्षता दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको थियो।
बैठकले मन्त्रालयसँगै निर्देशनालयको संख्या पनि घटाउने प्रस्ताव गरेको छ। हाल रहेका ७ निर्देशनालयलाई घटाएर २ मा सीमित गर्ने तथा ५ वटा खारेज गर्ने निर्णय गरिएको छ। साथै ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने मस्यौदालाई अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, एक हप्ताभित्र प्रदेशसभा बैठक बोलाउन सरकारसँग माग गरिएको छ। साथै प्रदेशसभा सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रशासनिक पुनःसंरचना सम्बन्धी उच्चस्तरीय समितिको मस्यौदामाथि छलफल गर्दै सरकारमा सहभागी दलहरूबीच सहमतिमा अघि बढ्न सुझाव दिइएको छ।
यसैबीच, कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै पार्टीभित्रका आन्तरिक विवाद संवादमार्फत समाधान गरी आगामी १५औँ महाधिवेशनलाई एकताको सन्देश दिने दिशामा अघि बढ्न आग्रह गरिएको छ।
बैठकले विभिन्न व्यक्तित्वहरूको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।








प्रतिक्रिया राख्नुहोस्