तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाको भीरकोटमा ‘विद्यार्थी बीमा’ कार्यक्रम सुरु 

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै  “विद्यार्थी बीमा कार्यक्रम” सुरु गर्ने भएको छ ।

कार्यक्रमको सुरुवात वडा न-८ बाट आगामी शैक्षिक सत्र २०८३ देखि हुने छ । यसअन्तर्गत वडा न-८ मा स्थायी बसोबास भएका र नगरभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ, जसबाट उनीहरूले अधिकतम १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् ।

वडा अध्यक्ष नन्दलाल खनालका अनुसार बालबालिकाको समग्र विकास, सुरक्षा र उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा यसका लागि ५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ भने शिखर इन्स्योरेन्ससँग सहकार्य गरी कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।

पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा आयोजित “विद्यार्थीसँग बीमा” कार्यक्रम मार्फत यसको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले वडाको पहलको प्रशंसा गर्दै यसले बालमैत्री अवधारणालाई व्यवहारमा उतार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी दिनमा नगरका अन्य वडामा समेत कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । साथै आगामी एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई ५० हजार रुपैयाँ सहित सम्मान गरिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button