तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर : ३६५ स्थानीयले पाए विशेषज्ञ सेवा

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गोपाल नीना फाउन्डेसन नेपालद्वारा शनिबार आयोजित उक्त शिविरबाट ३६५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

शिविरमा अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी, बालरोग तथा छाला रोग विशेषज्ञहरूले स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गरेका थिए ।

विपन्न तथा स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ। आर्थिक अभाव र समय व्यवस्थापनका कारण उपचारबाट टाढा रहेका स्थानीयले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

नरैनापुर गाउँपालिकाका प्रवक्ता मसुद अहमद शाहका अनुसार निःशुल्क जाँच, परामर्श र औषधि वितरणले सर्वसाधारणलाई ठूलो राहत पुगेको छ। यस्तै, गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा फाउन्डेसनका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै यस्ता स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्य सेवाबाट टाढा रहेका समुदायसम्म सेवा पुर्‍याउनु हाम्रो प्राथमिकता हो ।”

शिविर सफल बनाउन नरैनापुर गाउँपालिकाले आवश्यक सहकार्य गरेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button