तपाईँ सुन्दै हुनुहुन्छः

एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही चैत १९ गतेदेखि देशभर एकै समयमा सुरु हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ ।

बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

परीक्षा हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ ।

चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने बोर्डले जनाएको छ ।

बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । 

परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।  परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको जनाएको छ । 

प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । 

यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button