तपाईँ सुन्दै हुनुहुन्छः

समुदायमै आगो नियन्त्रण सुदृढ गर्न नेपालगञ्जको पहल

बाँके। गर्मीयामसँगै बढ्दो आगलागी जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले गृहिणी महिलालाई लक्षित गरी घरायसी आगो नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ।

सुपर परियोजनाअन्तर्गत वडा नं. ३ र ७ का ४० जना सामुदायिक आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूको सहभागितामा एकदिने तालिम आयोजना गरिएको हो। दैनिकजसो भइरहेका आगलागीका घटनालाई न्यूनीकरण गर्ने तथा सम्भावित क्षति कम गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका प्रमुख झयनबहादुर खड्काका अनुसार तालिममा आगो निभाउने प्रभावकारी उपाय, घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो नियन्त्रण गर्ने तरिका तथा अपनाउनुपर्ने र नअपनाउनुपर्ने सावधानीबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ।

विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सुपर परियोजनाअन्तर्गत तयार गरिएका ४०० स्वयंसेवकमध्ये ४० जनालाई विशेष रूपमा घरायसी आगो नियन्त्रण सम्बन्धी सीप प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले आगलागी हुँदा दमकल पुग्न ढिलो हुने अवस्थामा यस्ता तालिमप्राप्त स्वयंसेवकहरूले समुदायमै तत्काल प्रतिक्रिया जनाई क्षति न्यूनीकरण गर्न सक्ने बताउनुभयो।

त्यस्तै, वडा नं. ६ का अध्यक्ष तथा सुपर परियोजना संयोजक समिर प्रताप सिंहले तालिमले समुदायस्तरमै आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

घरको भान्साबाट हुने आगलागीका घटनालाई कम गर्न तथा जोखिम न्यूनीकरणमा यस्तो तालिम प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button