काँग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति थापा
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताउनुभयो ।
प्रतिकूल अवस्थामा निर्वाचनमा होमिनुपरेको बताउँदै सभापति थापाले निर्वाचन परिणामपश्चात् जबाफदेही भएर सभापति पदबाट राजीनामा दिएको बताउनुभयो । “मेरो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ, बाँकी ठिक बेठिकको निर्णय आगामी महाधिवेशनले गर्छ, अब हामी महाधिवेशनतर्फ अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो ।
सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकको विशिष्ट अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
“२०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर जानुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ, यसका लागि आयोग बनाएर जानुपर्छ,” उहाँले भन्नुभयो । निर्वाचनको विषयमा पार्टीको समीक्षा भइसकेको र आजको बैठकबाट निर्णय गरेर सातै प्रदेशमा समीक्षा गरिने जानकारी दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्