चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय मुआथाई प्रतियोगिता हुँदै
चितवन । चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने भएको छ । राइनो मुआथाई जिम फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

राइनो मुआथाईले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको हो ।
चैत १३ र १४ गते दुई दिन चल्ने दोस्रो राइनो मुआथाई प्रतियोगिता होटल सिद्धार्थ न्यु रोड नारायणगढमा हुने राइनो मुआथाईका अध्यक्ष विज्ञान दराईले जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन् । उनीहरूले विभिन्न ३५ विधामा प्रतिस्पर्धा गर्ने दराईले बताउनुभयो ।
प्रतियोगिताको मेन इभेन्टमा नेपालका रोहित कायत र भारतका मोइराङथेम सनहलले प्रतिस्पर्धा गर्नेछन् । यस्तै को–इभेन्टमा नेपालका रोशन अछामी र भारतका जेरो मेईतेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालकै एपिएफ क्लब लगायत अन्य खेलाडीहरूले पनि अन्य विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । सहभागी सम्पूर्ण खेलाडी व्यवसायीक फाइटरहरु मात्रै रहेको दराईले जानकारी दिनुभयो ।
मेन इभेन्टतर्फ प्रथम पुरस्कार एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै को–इभेन्टमा विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधामा पनि नगद पुरस्कार राखिएको छ ।
राइनो मुआथाईले यस अघि गत वैशाखमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको थियो । यस पटक प्रतियोगिताको स्तर माथि उठाउँदै अन्तर्राष्ट्रिय स्तरको आयोजना गरिएको राइनो मुआथाईका अध्यक्ष दराईले बताउनुभयो ।
यस किसिमको प्रतियोगिताले खेलाडीहरूको खेल कौशल बढाउन र उनीहरुलाई प्रेरित गर्न मद्दत मिल्ने दराइको विश्वास छ । मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । चितवनमा राइनो मुआथाईले यो खेललाई अघि बढाइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्