तपाईँ सुन्दै हुनुहुन्छः

दलहरूले कसरी गर्दै छन् संसदीय दलको नेता चयन ?

काठमाडौँ । संसद् सचिवालयले चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई सपथ खुवाउने तयारी गरेपछि दलहरूले आफ्ना संसदीय दलको नेता चयन गर्ने तयारी पनि अघि बढाएका छन् । प्रतिनिधिसभामा झण्डै दुई तिहाइ सदस्य जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो  नेतृत्वमा सम्भवतः चैत १३ गते नै सरकार गठन गर्ने तयारीलाई तीव्रता दिएको छ ।

नयाँ प्रधानमन्त्री चयन हुनु अगावै दलहरूले आफ्ना संसदीय दलका नेता चयन गर्नेछन् । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते सपथ खुवाउने सूचना जारी गरेर तयारी पूरा गरेको छ भने प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । 

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ  सरकार गठन हुनु अघि नै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलले संसदीय दलको नेता चयन गरिसक्ने छन् । यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो संसदीय दलको नेतामा जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर शाहीलाई चयन गरिसकेको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको सपथ भएकै दिन बैठक बसेर सर्वसम्मतिले दलको नेता चयन गर्ने गरी तयारी गरेको छ । निर्वाचनमा जाँदा नै रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेको झापा क्षेत्र नं ५ बाट विजयी बालेन्द्र शाहलाई  सहमतिमै दलको नेता चयन गरिने रास्वपाले जनाएको छ । पार्टी उपसभापति डिपी अर्याल संसदीय दलको नेता चयनका विषयमा औपचारिक रुपमा बैठक बसेर छलफल गर्न बाँकी रहेको बताउनुहुन्छ ।  संसद्को दोस्रो ठूलो दले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काँग्रेसले बैठक सकेर सबै सांसदहरूसँग छलफल गरी संसदीय दलको नेता चुन्ने तयारी गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले चुनौतीपूर्ण अवस्थामा बृहत् छलफल गरेर संसदीय दलको नेता चयन गर्ने जानकारी दिनुहुन्छ कांग्रेस नेता एवम् सांसद अजुर्ननरसिंह केसी । वादविवाद र विभाजनभन्दा पनि सहमतिमा जाँदा पार्टीमा राम्रो सन्देश जाने नेता केसीको भनाइ छ । 

प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा रहनुभएका कारण संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल नै हुन सकेको छैन ।  एमाले नेता एवम् सांसद गुरु बरालले अध्यक्ष ओलीको पिताको १३ दिनको काम सकिएपछि सरसल्लाह गरेर संसदीय दलको नेतृत्व कसले गर्ने भनेर टुङ्गो लगाइने  जानकारी दिनुभयो । त्यस्तै, संसद्को चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टी–नेकपाले पार्टीका संयोजक समेत रहनुभएका सांसद पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।  प्रचण्डले चाहँदासम्म उहाँ नै दलको पनि नेता हुने नेकपाका नेताहरूले सार्वजनिक रूपमै बताइसक्नु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनअघि दल खोलेर प्रत्यक्ष र समानुपातिकमा गरी प्रतिनिधिसभामा सात स्थान प्राप्त गरेको श्रम संस्कृति पार्टीले अध्यक्ष एवं सांसद हर्क साम्पाङलाई नै संसदीय दलको नेता चुन्ने गरी छलफल गरिरहेको जनाएको छ ।  फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । प्रतिनिधिसभामा १ सय ८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलको रुपमा रहेका छन् । यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ दलको रुपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरूबिच मतदान वा सर्वसम्मति हुनुपर्नेछ । संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ । जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्छन् । संसदमा पेस हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ । यसैगरी, यदि दल सरकारमा छ भने सरकारका नीति तथा कार्यक्रमलाई संसद्बाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका काम कारबाहीको निगरानी गर्ने काम दलको नेताको हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button