संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा
सप्तरी। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत राउतले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि सङ्घर्षको राजनीति निरन्तर जारी राख्ने बताउनुभएको छ।
राउतले आफ्नो व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताउनुभएको छ।
उहाँले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको तथा जनतामाझ जानसमेत रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उहाँले बताउनुभएको छ।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने योजना बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा सहभागी भएको उनले उल्लेख गर्नुभएको छ। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उहाँको दाबी छ।
त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस् भनेर फेरि उम्मेदवारी दिएको उहाँले बताएका छन्। परिणामपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पार्नुभएको छ। उहाँले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
साथै उहाँले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा निरन्तर सक्रिय रहने बताउनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्