जानकी–३ स्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनको अनुगमन गरिएको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा सामाजिक विकास समिति संयोजक राम अचल धोबी, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नं. ३ का वडा अध्यक्ष राजकुमार बर्मा, स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना लगायतको टोलीले भवनको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनपछि रेडियो नेपालसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको र हालसम्म प्रसूति सेवा सञ्चालन हुन नसक्दा स्थानीय महिलाहरूले ठूलो सास्ती भोग्दै आएको गुनासो आएपछि आवश्यक भौतिक संरचना निर्माण गरी सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो।
उहाँका अनुसार भवनको अवस्थाबारे अनुगमन गरी सामाजिक विकास समितिले गाउँपालिकालाई प्रतिवेदन पेश गर्नेछ। त्यसपछि गाउँपालिकाको कार्यपालिकाले आवश्यक दरबन्दी स्वीकृत गरि सकेको छ भने स्वास्थ्य कार्यालयसँग अनुमति माग गरिने छ । अनुमति प्राप्त हुन साथ प्रसुती सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि स्थानीय महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रसूति सेवा विस्तार गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पालिकाका ६ वटा वडा भए पनि हाल वडा नं। १, २ र ६ मा मात्रै प्रसूति सेवा सञ्चालनमा छ। वडा नं. ३ सहित अन्य वडामा पनि सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो। भवन निर्माणको काम पूरा भइसकेको छ, अब आवश्यक जनशक्ति व्यवस्थापन गरी चाँडै सेवा सुरु गर्ने तयारीमा छौँ।”
अध्यक्ष खाँले स्रोतको अभावका कारण केही वडामा प्रसूति सेवा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै निकट भविष्यमा प्रदेश र संघीय सरकारसँग बजेट माग गरी सेवा विस्तार गरिने जानकारी दिनुभयो।
उहाँले शुन्य होम डेलिभरी गराउने सरकारको नीति अनुरुप अगाडि बढेको प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका अनुसार हाल सञ्चालनमा रहेका तीन वटा प्रसूति केन्द्रमार्फत चालु आर्थिक वर्षको आठ महिनामा करिब ४ सय जना महिलाले सुरक्षित रूपमा सुत्केरी सेवा लिइसकेका छन् ।
वडा नं। ३ मा करिब ९ हजार ८ सय ४५ जनसङ्ख्या रहेको छ। हालसम्म यस वडाका महिलाहरू सुत्केरी हुन नेपालगञ्जस्थित भेरी अस्पताल, सञ्जीवनी अस्पताल तथा पालिकाभित्रका अन्य वडामा रहेका प्रसूति केन्द्रहरूमा जानुपर्ने बाध्यता रहेको छ।
स्वास्थ्य चौकीमै प्रसूति सेवा सुरु भएपछि स्थानीय महिलाहरूलाई सहज हुने, समय र खर्च बचत हुने तथा अनावश्यक झन्झटबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्