पुनलाई दुर्व्यवहार गर्ने गुरुङ पक्राउ

पोखरा । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनलाई दुर्व्यवहार गर्ने ४३ वर्षका विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने गुरुङलाई बुधबार पोखरा–९ महेन्द्र पुलबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो ।
उहाँमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जनाउनु भयो । पोखराको पृथ्वीचोकमा डा. पुनले पुस्तक बिक्री गरिरहेको क्रममा अभद्र व्यवहार गर्ने व्यक्तिको खोजतलासपछि पक्राउ गरिएको उहाँले बताउनुभयो। उक्त घटनापछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सांसदमाथि दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न माग उठेको थियो ।
फागुन २५ गते पोखरा–९ पृथ्वीचोकमा डा.पुनसहितको टोलीले “महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको बेला एक व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही घटनाको सूक्ष्म अनुसन्धानपछि विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी अभिलेख अनुसार गुरुङ यसअघि लागुऔषध सम्बन्धी मुद्दामा तीन पटकसम्म सजाय भोगिसकेको पनि खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच, राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत डा. पुनले पोखराका विभिन्न स्थानमा पुगेर आफ्नो जीवन कथामा आधारित पुस्तक बिक्री गर्दै आउनुभएको छ । सोमबार पोखराको अमरसिंह चोक, पृथ्वी चोक लगायतका स्थानमा पुगेर उहाँले स्वयम् पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षरसहित पुस्तक हस्तान्तरण गर्नुभएको थियो।
बुधबार पोखरामा मात्रै पुस्तक बिक्रीबाट करिब ८ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको उहाँ निकट स्रोतले जनाएको छ। यसैक्रममा बिहीबार रामबजार र सृजना चोकमा पुस्तक बिक्री गर्दा पुस्तक सकिएपछि पुनले अर्को सूचना जारी गरेर मात्र पुनः बिक्री गर्ने जानकारी दिनुभएको थियो।
केन्द्र सञ्चालन तथा वीरगञ्ज कृषि औजार कारखाना सुधार र सञ्चालनका लागि रकम जुटाउने उद्देश्यले पुनले देशका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले यसअघि पनि देशका विभिन्न जिल्लामा पुगेर करोडौँ रुपैयाँ बराबरको पुस्तक बिक्री गरिसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्