तपाईँ सुन्दै हुनुहुन्छः

प्रभातफेरी कार्यक्रम र मैत्रीपूर्ण फुटबल खेल आयोजना गरि विश्व मृगौला दिवस मनाइयो

काठमाडौँ । यस वर्षको विश्व मृगौला दिवस “सबैको लागि मृगौला स्वास्थ्य: मानिसका हेरचाह पृथ्वीको संरक्षण” नाराका साथ मनाइएको छ । 

विश्व मृगौला दिवसको अवसरमा आज स्वास्थ्य अभियान नेपाल (शान अस्पताल) ले प्रभातफेरी कार्यक्रमको आयोजना गर्नुका साथै मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्‍यो । 

उक्त कार्यक्रममा नेपाल किड्नी  समाज काठमाडौँ, श्री मिर्गौला पिडित सरोकार समाज र राष्ट्रिय मिर्गौला पिडित सरोकार केन्द्र सहआयोजकका रुपमा रहेका छन् ।

देशका विभिन्न अस्पतालमा उपचाररत मिर्गौला फेल भएका  बिरामी, अङ्गदाता तथा तिनका परिवार, कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीको उत्साहपूर्ण सहभागितामा जनचेतनामूलक सामाग्री र प्लेकार्ड सहित ग्वार्को चोकबाट एन्फा खेलमैदान सातदोबाटो ललितपुरसम्म प्रभातफेरी कार्यक्रम गरि मनाइएको हो । 

साथै मैत्रीपूर्ण फुटबल खेलमा अङ्ग प्रत्यारोपितका टोलीले कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीको टोलीलाई ३÷२ गोल अन्तरले पराजित गरे । अङ्ग प्रत्यारोपितहरू पनि अरू व्यक्ति सरह सबल र सक्षम हुन सक्छन् भन्ने सूचना प्रवाह गर्न उक्त नतिजाबाट थप प्रमाणित भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, स्वेता खड्का, पल्पसा डङ्गोल (चमसुरी), गायिका बिन्दु परियार, पूर्व मिस नेपाल सरिसा श्रेष्ठ, श्रीच्छा प्रधान, पूर्व मिस्टर नेपाल नीमेश कपाली, सन्तोष लिम्बु,  हिमाचंल राज के.सी तथा एलिस कार्की (सङ्गीतकार), राजेश कुमार श्रेष्ठ (सङ्गीतकार/गीतकार) लगायतका कलाकारहरू, नेपाली राष्ट्रिय फुटबलका पूर्व कप्तान गणेश थापा, डा. किरण राई, गिनिज बुक रेकर्डधारी मृगौला प्रत्यारोपण पश्चात् सगरमाथा पर्वतारोही पेम्बा शेर्पा लगायतको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 

विजेता प्रत्यारोपित टोलीका कप्तान झमक श्रेष्ठलाई ट्रफी तथा उपविजेता टोलीका सदस्य श्वेता खड्कालाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा  सहभागी सबैलाई स्वास्थ्य अभियान नेपालका अध्यक्ष  डा. पुकार चन्द श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भयो र अङ्गदान तथा प्रत्यारोपण कार्यमा सबैको साथ सहयोगका लागि आव्हान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button