कुकुर कुटेर मारेको आरोपमा एक पक्राउ
सुनसरी। सुनसरीको कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई कुकुर कुटेर मारेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मकैवारिमा हिँडेको भन्दै दासले कुकुरलाई कुटपिट गरी मारेको आरोप लागेको छ। घटनापछि स्थानीयले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
नेपालको मुलुकी अपराध संहिता अनुसार पशुमाथि क्रूरता गर्नु गैरकानुनी मानिन्छ। कुनै पनि पशु, घरपालुवा वा सडक कुकुरलाई कुटपिट गर्ने, हिर्काउने, यातना दिने, क्रूरतापूर्वक मार्ने वा अनावश्यक पीडा दिने कार्य कानुन विपरीत हुन्छ।
यस्तो कसुरमा दोषी ठहरिएमा तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्