तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, सम्बन्ध र संस्कृति आदानप्रदानका दृष्टिले महत्त्वपूर्ण

काठमाडौँ । काठमाडौँमा आजदेखि ‘आइज टु एज’ शीर्षकमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका कलाकारका सिर्जनाहरू समावेश गरिएको छ । 

प्रदर्शनी उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो बताउँदै यस्ता प्रदर्शनीले थप प्रगाढ बनाउने बताउनुभयो ।

उहाँले हिमवत्खण्डदेखि नै दुई देशबीच भाइचाराको सम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने गरेको बताउनुभयो ।

भारतीय कलाकार एवं प्रदर्शनीका क्युरेटर मनोज भिएनले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबीच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषयहरू मिल्दाजुल्दा भएकाले पनि प्रदर्शनी प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस किसिमका प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आपसी सम्बन्ध र संस्कृति विस्तारकै लागि यो प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताउनुभयो । उहाँले भारतसँग धेरै विषय मेल खाने र संस्कृति पनि समान प्रकारका रहेको बताउनुभयो ।

भारतीय कलाकार पवल पागलले नेपाल भारतको सांस्कृतिक महत्त्व एक खालको रहेको स्मरण गर्दै कार्यक्रममा कविता वाचन गर्नुभएको थियो । अर्का कलाकार उदय राजले भारतको कालजयी गीत बाँसुरी बजाएर प्रस्तुत गर्नुभएको थियो । 

नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ । प्रदर्शर्शीत कलाकृति समसामयिक, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित रहेका छन् । कला प्रदर्शनीका लागि भारतबाट पाँच जना कलाकार नेपाल आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button