मकवानपुरमा पूर्वसांसद सिंहको धरौटी जफत, प्रदेश सांसदबाट प्रतिनिधिसभा लडेका दुई मात्र विजयी
मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा मकवानपुर–१ बाट उम्मेदवार बन्नुभएका दीपक बहादुर सिंह पराजित हुनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता सिंहले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उहाँको धरौटी जफत भएको हो।
यस निर्वाचनमा उहाँले ४ हजार ५७५ मत मात्रै प्राप्त गर्नुभएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उहाँ २७ हजार ८५१ मतसहित विजयी हुनुभएको थियो। त्यति बेला उहाँले आफ्ना राजनीतिक गुरु कमल थापालाई तेस्रो स्थानमा राख्दै जीत निकाल्नुभएको थियो। त्यसपछि उहाँ सङ्घीय संसद्को पूर्वाधार विकास समितिको सभापति समेत बन्नुभएको थियो।
मकवानपुर–१ मा सिंहसँगै मकवानपुर–२ बाट राप्रपाका उम्मेदवार राम बहादुर थोकरको पनि धरौटी जफत भएको छ। उहाँले ७८५ मत मात्र प्राप्त गर्नुभएको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मकवानपुर–१ मा ८६ हजार ७२४ मत सदर भएको छ। यहाँ श्रम संस्कृति पार्टीसहित अन्य दल र १० जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको धरौटी जफत भएको जानकारी दिनुभयो।
यस्तै मकवानपुर–२ मा ८५ हजार ६१९ मत सदर हुँदा चार दलका उम्मेदवार बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको धरौटी जफत भएको जनाइएको छ। उज्यालो नेपाल पार्टी का उम्मेदवार प्रवीण कुमार स्याङ्तानले ६ हजार २३७ मत प्राप्त गर्नुभएको छ।
यसैबीच, बागमती प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका ६ जनामध्ये दुई जना मात्र विजयी हुनुभएको छ।
यस क्रममा युवराज दुलाल सिन्धुपाल्चोक–२ बाट २१ हजार ६९९ मतसहित विजयी हुनुभएको छ भने सुनिल केसी काठमाडौँ–२ बाट ३४ हजार २३८ मतसहित निर्वाचित हुनुभएको छ।
प्रदेश सांसदबाट प्रतिनिधिसभा चुनाव लड्नुभएका अन्य उम्मेदवार भने पराजित हुनुभएको छ। अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र वसन्तप्रसाद मानन्धर पराजित हुनुभएको हो।
काठमाडौँ–६ मा एमालेका मास्के शिशिर खनालसँग पराजित हुनुभयो भने काठमाडौँ–७ मा एमालेका श्रेष्ठ र नेकपाका मानन्धर गणेश पराजुलीसँग पराजित हुनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्