तपाईँ सुन्दै हुनुहुन्छः

झापाका पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

झापा । झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निकै अगाडि रहेका छन् । सुरुवाती मतगणनादेखि नै उनीहरूले निरन्तर मतान्तर बढाइरहेका छन् ।

देशकै सर्वाधिक चासो र चर्चाको क्षेत्र रहेको क्षेत्र नं. ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)–ले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्नुभएको छ ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक मत परिणाम अनुसार बालेनले ओलीलाई ९ हजार २५३ मतले पछि पारिसक्नुभएको छ । सो क्षेत्रमा १८ हजार ९७ मत गणना गर्दासम्म बालेनले ११ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने ओलीले २६९२ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले १४७७ मत ल्याउँदा नेपाली कांग्रेसका मन्धरा चिमरियाले ३३५ र नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गर्नुभएको छ ।

झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगीले ५६५८ मतका साथ अग्रता कायम राख्नुभएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केबलराम राईले १६९८ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले १४८३ र नेकपा एमालेका रामचन्द्र उप्रेतीले १२२८ मत प्राप्त गर्नुभएको छ ।

झापा क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर भारी मतान्तरले अघि हुनुहुन्छ । निवर्तमान उपसभामुख मगरले ५९९४ मत प्राप्त गर्दा निवर्तमान सभामुख नेकपा एमालेका देवराज घिमिरेले ९६९ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबिचको मत अन्तर ५ हजार २५ रहेको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी ९२८ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली काँग्रेसकी सरिता प्रसाईँले ५९०, नेकपाकी धर्मशिला चापागाईँले ११३ मत प्राप्त गर्नुभएको छ ।

झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका प्रकाश पाठक पहिलो स्थानमा हुनुहुन्छ । पाठकले ६ हजार ८८ मत ल्याउँदा लिङ्देनले ३११४ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले १५९२ मत ल्याउँदा एमालेका हरिबहादुर राजवंशीले १२८६, नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले १२१२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी झापा ४ मा पनि रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल अगाडि छन् । उनलाई एमालेका एलपी सावाले पछ्याइरहेका छन् । ढकालले १७७५ मत ल्याएकोमा सावाले ५७९ मत ल्याएका छन् । कांग्रेसका देउकुमार थेबेले ४५२, श्रम, संस्कृति पार्टीकी अमृतादेवी राईले १९४, नेकपाका पुरुषोत्तम चुडालले ११८ मत ल्याएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५७ हजार ४३५ जनाले मतदान गरेका छन् । अहिले पाँचै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button