तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा मतपेटिका ढुवानीको काम हुँदै

बैतडी। बैतडीमा मतपेटिका ढुवानी भइरहेको छ। जिल्लामा रहेका २१५ वटै मतदान केन्द्रबाट मतपेटिका ढुवानीको काम भइरहेको हो ।

राती १० बजेसम्म ५१ वटा मतदान केन्द्रबाट मतपेटिका पुगिसकेको र बिहान ४ बजेसम्म सबै केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

जिल्लामा  ७३ हजार बढी मत खसेको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानमा निर्धारित समयभित्र ७३ हजार १४८ मत खसेको हो ।

आज बिहान ७ बजेदखी साँझ ५ बजेसम्म ४० हजार ५७२ महिला र ३२ हजार ५७५ पुरुष तथा एक अन्य मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताउनुभयो । २१५ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए । जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

मतपेटिका पुगेपछि शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button