तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो: आयोग

मतगणना आजै साँझबाट सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आज देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।

मतदानको समय सकिएपछि अयोगले केन्द्रिय कार्यालय काठमाडौँमा पत्रकार सम्मेलन गरी छिटपुट अवरोधबाहेक उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको हो ।

चुनौती पूर्ण परिस्थितिमा सरोकारवाला सबै पक्षको सकारात्मक सहयोगबाट शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न आयोग सफल भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । 

मतदानका केही स्थानमा उत्पन्न विवादका कारण प्रभावित भएको मतदान प्रक्रिया अबेर सम्म चलेकाले कूल खसेको मतको यकिन विवरण आउन र हाल सम्मको तथ्याङ्क अनुसार ६० प्रतिशत भन्दा बढी मत खसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम भइरहेको र सम्बन्धित निर्वाचन क्षेत्रको मतपेटिका सङ्कलन हुनासाथ मतगणना सुरु गरिने बताउनुभयो । 

यस्तै भौगोलिक रुपमा कठिन र हिमाली क्षेत्रका १५ जिल्लाको मतपेटिका सङ्कलनका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिने र भोलिसम्ममा सबै क्षेत्रको मतपेटिका सङ्कलन गरी मतगणना सुरु हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । 

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ७५ सदस्यका लागि आज मतदान भएको हो ।

निर्वाचनमा प्रत्यक्ष तर्फ स्वतन्त्र तथा विभिन्न ६८ राजनीतिक दलका जम्मा ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनहुन्छ । यस्तै समानुपातिक सदस्यतर्फ तीन हजार एक सय ३५ उम्मेदवारले भाग लिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button