बैतडीमा ७३ हजारभन्दा बढी मत खस्यो

बैतडी । बैतडीमा ७३ हजारभन्दा बढी मत खसेको छ ।
आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा निर्धारित समयभित्र ७३ हजार १४८ मत खसेको हो ।
आज बिहान ७ बजेदखी साँझ ५ बजेसम्म ४० हजार ५७२ महिला र ३२ हजार ५७५ पुरुष तथा एक अन्य मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताउनुभयो । २१५ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए । जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ ।
जिल्ला अदालत भवनमा निर्माण गरिएको मतगणना स्थलमा ल्याइने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । २१५ वटै मतदान केन्द्रबाट मत गणना स्थलमा मतपेटिका पुगेपछि शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाभरिका मतपेटिका आज रातभरिमै सदरमुकाम ल्याइसक्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । “मतपेटिका ढुवानीको काम सुरु भैसकेको छ” , उहाँले भन्नुभयो “राती दुई /तीन बजेभित्र सबै मतपेटिका सङ्कलन गरिसक्ने लक्ष्य राखेका छौँ ।”








प्रतिक्रिया राख्नुहोस्